#Ep.057
आप्रवासनका कारकहरु सामाजिक, आर्थिक, राजनीतिक, वातावरणीय, आदि विभिन्न हुन सक्छन् | दशकौंदेखि आप्रवासनलाई केन्द्रमा राखेर नीतिगत तहमा गरिएका अनुसन्धान, बहस र पैरवीहरूले आर्थिक र राजनीतिक आयामलाई बढी ध्यान दिएका थिए भने, चार दशकयता मूल रूपमा समाजविज्ञानका अध्येताहरूले सामाजिक–सांस्कृतिक आयामलाई पनि आप्रवासन विधाको आफ्नो अनुसन्धानको दायरामा गहकिलो रूपमा ल्याएको पाइन्छ | सामाजिक–सांस्कृतिक आयामबाट पनि अघि बढेर आप्रवासनलाई जलवायु परिवर्तनसंग पनि जोडेर हेर्नुपर्छ भनेर सन् १९९० को दशकदेखि हुन थालेको देखिन्छ | जसको पुष्टि राष्ट्रसंघीय आप्रवासी संगठनद्वारा १९९२ मा आयोजित एउटा महत्त्वपूर्ण अध्ययनले गरेको पाइन्छ जसले प्रस्ट रूपमा भनेको छ— “पछिल्ला वर्षहरूमा वातावरणमा आएको ह्रासले गर्दा ठूलो संख्यामा मानिसहरू बसाइँ सरेका छन् र यो क्रम बढ्दो छ” । ३१ बर्ष पछि, सन् २०२३ मा आइपुग्दा जलवायु परिवर्तन सिर्जित आप्रवासनको आवस्था कस्तो रहेको छ त ? यसका मुख्य मुख्य चुनौतीहरु के के हुन्? अनि नेपाल जस्तो भुपरिवेस्थित र भौगोलिक र जैविक विविधता भएको देशमा, जहाँ आज पनि लगभग ६६ % जनसंख्या कृषिमा निर्भर छन् र त्यसको पनि दुई- तिहाई त निर्वाहमुखी कृषि गर्दछन, यहाँ जलवायु परिवर्तनको असर कस्तो रहेको छ र यसलाई आप्रवासनसंग कसरी जोड्न सकिन्छ ? जलवायु परिवर्तन बाट सिर्जित आप्रवासनका सन्दर्भमा, यो बाट उत्पन्न हुने समस्याको समाधानका निम्ति के के पहल हरु भएका छन् ? वातावरणीय आप्रवासनको समस्या र त्यस बाट सिर्जित चुनौती र समस्याहरु संग लड्न वा ति अनुकुल आफुलाई ढाल्न के के अल्पकालीन र दिर्घकालिन उपाय हुन सक्छन्?
यिनै बिषयहरुलाई समेट्दै, आजको भागमा पी. ई. आई. का जनक पोख्रेल, आप्रवासनबिद् र समाजशास्त्री मिना पौडेलसँग उहाँको गत असार ३ गते, कान्तिपुर दैनिकमा “आप्रवासन र जलवायु परिवर्तनको सम्बन्ध” नामक शिर्षकमा लेखिएको लेखको अन्तरङ्गमा रहेर संवादमा बस्दैछन् | पौडेलले जलवायु परिवर्तन र आप्रवासनको सम्बन्धलाई उजागर गर्दै, वतावरणीय आप्रवासनको समस्यालाई समाधान गर्न वा त्यस अनुकुल रहेर त्यसको प्रभावलाई न्यूनीकरण गर्न के के अल्पकालीन र दिर्घकालिन कदमहरु चाल्न सकिन्छ भनेर विश्लेषण गर्नुभएको छ |
मीना पौडेल एक नेपाली समाजशास्त्री हुनुहुन्छ | उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायतको न्युकासल विश्वविद्यालयबाट बिद्यावारिधि गर्नुभएको छ | उहाँ सँग नेपालसंगै, दक्षिणपूर्व र मध्य एशिया, पश्चिमी यूरोप र उत्तर अफ्रिकाका अन्य देशहरूमा सामाजिक रूपमा बहिष्कृत र राजनीतिक रूपमा सीमान्तकृत समूहहरूको जीवनलाई असर गर्ने मुद्दाहरूमा विकास कार्य, अनुसन्धान र नारीवादी सक्रियताको लामो अनुभव छ। उहाँले Oxfam GB, USAID, UN प्रणाली र एकेडेमिया सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा संलग्न भएर काम गरिसक्नु भएको छ । विगत २० वर्षदेखि उहाँ दक्षिण एसिया (अफगानिस्तान, पाकिस्तान), मध्य एसिया (उज्बेकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान) र उत्तर अफ्रिका (लिबिया) मा आप्रवासनको जोखिममा परेका महिला, पुरुष र बालबालिकाको जीवनका विभिन्न पक्षहरू - जलवायु परिवर्तन सहितको, अनुसन्धानमा संलग्न हुनुहुन्छ। उहाँले यी विषयहरूमा अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा व्यापक रूपमा अनुसन्धान र नीति पत्रहरू समेत लेख्नु भएको छ |
<quillbot-extension-portal></quillbot-extension-portal>